Saturday May 04, 2024

गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न 

२९ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1650


गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न 

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली कला साहित्य मञ्च,युकेको आयोजनामा ७ अक्टोबर, २०२३ मा सेन्ट साईमन हल, आश्फोर्डमा गंगाराज राई एकल साँझ भब्य रुपमा सम्पन्न भएको छ।

लाईभ ब्याण्ड सहित भएको यो साङ्गीतिक कार्यक्रममा नेपाली सङ्गीत प्रेमी दर्शकको बाक्लो उपस्थिती थियो। गायक राईले नेपाली गीत-सङ्गीतको क्षेत्रमा बिताउनु भएको २० वर्षको उपलक्ष्यमा भएको कार्यक्रममा गंगाराज राईले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नु भएको थियो।

नेपाली कला साहित्य मञ्च, युकेको संयोजक डा. अनिल राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सुरुवाती संचालन संस्थाका सचिव श्री दीपेन थुलुङले गर्नु भएको थियो भने पछि श्री प्रमिला लाबुङ राईले कार्यक्रम अगाडि बढाउनु भएको थियो। कार्यक्रमको लागि सगरमाथा गोरखा नेपाली समाज आश्फोर्ड र नेपाली कलाकार प्रस्तोता समाज, बेलायतसँग सहकार्य भएको थियो। कार्यक्रममा गायक गंगाराज राईको संक्षिप्त जीवनी पढेर सुनाईएको थियो र सगरमाथा गोरखा नेपाली समाज आश्फोर्डको तर्फबाट गायक राईको २० वर्षे नेपाली साङ्गीतिक यात्राको कदर गर्दै केक काटिएको थियो।

नेपाल राजादुतावास बेलायतबाट विशेष प्रतिनिधिको रुपमा श्री गजेन्द्र राईको उपस्तिथी भएको कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र वरिष्ठ गीतकार बुद्धबिर लामाको पनि गरिमामय उपस्थिती भएको थियो। नेपाली गीत-सङ्गीतको क्षेत्रमा वहाँहरुले पुर्‍याउनु भएको योगदानको लागि श्री सुब्बा र श्री लामालाई सम्मान गरिएको थियो। गैर-आवासीय नेपाली संघ, युकेका अध्यक्ष श्री प्रेम गाहा मगर, सगरमाथा गोरखा नेपाली समाज आश्फोर्डका अध्यक्ष डम्बर सिङ्गक लिम्बु, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्र बहादुर राई लगायत युकेमा भएको नेपाली संस्थाहरुबाट प्रतिनिधित्व भएको थियो।

साथै, मगर संघ युकेका अध्यक्ष श्रीमती सीता पुन,फोक्स्टोन नेप्लिज कम्युनिटीका अध्यक्ष झपिन्द्र थापा,किरात राई जुम्लेखाका अध्यक्ष शिव राम राई,प्रस्तोता समाज युकेका अध्यक्ष श्रीमती जानुका पुन,सामाजिक कार्यकर्ता तथा एक्टिभिष्ट पदम राई बिईएम,रत्न राई (गायक राजेश पायल राईका बुवा),मेजर रि. दिल कुमार राई,क्या.रि.सुमन चन्द्र राई, गायक सपन कुमार राई, गायक श्री बिसी राई, कलाकारहरु डा.कपिल रिजाल,सनम कुमार बैराग,गीतकार चन्द्रावती राई लगायत नेपाली गीत-सङ्गीतमा लाग्नु भएका र माया गर्नु हुने श्रष्टाहरुको गरिमामय उपस्थिती थियो।

लाईभ भएको साङ्गीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम+किबोर्ड), महेश गुरुङ(तबला), थिर थापा (हार्मोनियम+किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी+सेक्सोफोन), रेशम पाचे(ढोलक+मादल), सुरज गुरुङ (लीड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ(बास गितार),प्रभास गुरुङ(ड्रम) अनि भायोलिनमा क्रमस : कीथ टायस र एन्थोनी थोन्टर्न रहनु भएको थियो।

भब्य रुपमा सम्पन्न कार्यक्रम राती ११ बजेसम्म चलेको थियो। सन् २०२३ को सुरुवातमा स्थापित नेपाली कला साहित्य मञ्च, युकेले यस अघी बरिष्ठ कलाकार निर शाहसँग एक साँझ नामक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो। संस्थाको अन्य सदस्यहरुमा डा. महा राई, नयन्द्र राई, सन्देश राई,भीम राई र पदम सुब्बा हुनुहुन्छ। युकेमा नेपाली कला र साहित्यलाई प्रोत्साहन गर्ने सोच साथ स्थापित यो संस्थाले भविष्यमा पनि यस्तै कार्यक्रमहरु गरेर प्रवासमा भएको नेपाली कला र साहित्यलाई सम्वर्द्धन गर्ने काम जारी राख्ने जनाएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?