Saturday May 04, 2024

पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव एवम च्यारिटी भब्य

२६ असार, २०८० शीतलपाटीन्युज डटकम। 1692


पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव एवम च्यारिटी भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतमा बसोबास गरेका नेपालीको उत्साहजनक सहभागितामा  भब्य सम्पन्न भएको छ। बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न एम्पायर हलमा आयोजित कार्यक्रममा अंन्दाजी ३०० को संख्यामा उपस्थित संघसंस्था तथा समुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागिता थियो।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहेको सो कार्यक्रममा नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न कोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको थियो। कार्यक्रममा उत्साहजनक रुपमा अर्थ संकलन भएको जनाउँदै शाखाले संकलित यो कोषको पूर्ण विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ। 

पत्रकर महासंघ युके शाखाका महासचिव नरेन्द्र बस्नेत र उपाध्यक्ष प्रमिला लावुङ राईले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शकको रुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयको थियो। नेपाली संचार माध्यमले नेपाली-नेपालीबीच सम्पर्क कायम राख्न,नेपाली डायस्पोराको गतिविधिबारे सूचना दिन,स्थानीय समुदायलाई नेपाली समुदाय भित्रका गतिबिधीका लागि महत्वपूर्ण पुलको सेवा दिइरहेको भन्दै प्रशंसा गर्नु भयको थियो। राजदूत आचार्यले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै १२ औं वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ यूके शाखाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नु भयो।

त्यस्तै,विशेष अतिथि महासंघका केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि नै नेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्न अभियान चलाउंदै आएको स्मरण गर्नु भयको थियो। उहाले महासंघका १० वटा वैदेशिक शाखाहरु हाल क्रियाशील रहेको जनाउनु भयको थियो।

महासचिव पुरीले महासंघका विदेशस्थित शाखाहरुले विदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसंग जोड्ने काम गरिरहेको बताउंदै त्यसको लागि धन्यवाद पनि दिदै नेपाल पत्रकार महासंघ यूकेले नेपालमा दुखमर्कामा परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए। महासचिव पुरीले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सघाउन च्यारिटी कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिएका थिए।

स्वागत मन्तव्य राख्दै शाखा अध्यक्ष ध्रुवराज अर्यालले पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय पत्रकारिताको प्रवर्द्धन गर्ने च्यारिटी कार्यक्रमको लक्ष्य रहेको बताउनु भयको थियो। शाखा स्थापनाकाल देखि नै बेलायती नेपाली समुदायको एक अभिन्न अंगका रुपमा रहँदै आएको स्मरण गर्दै अध्यक्ष अर्यालले समुदायका तर्फबाट प्राप्त निरन्तर सहयोग र ऐक्यबद्धताका लागि आभार प्रकट गर्नु भयको थियो।

सो अवसरमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट शाखाका पूर्वअध्यक्ष समेत रहेका वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगरलाई पुरस्कृत गरिएको थियो। बेलायतमा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित उक्त पुरस्कारको राशी ५ सय २ पाउण्डको थियो। त्यस अवसरमा शाखाले पुरस्कार सिफारिश समितिका संयोजक डा बच्चुकैलाश कैनी तथा सदस्यहरु नवीन पोखरेल र लक्ष्मी राई (लारा)लाई प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो। सोही अवसरमा शाखाका सचिव खेमराज रानाभाट र पत्रकार श्रीभद्र खनालद्धारा लिखित फकल्यान्ड युद्ध, पहिलो विश्वयुद्ध र जंगबहादुरका विषय समेटिएको पुस्तक तीन फरक विषय पनि विमोचन गरिएको थियो।

सो अवसरमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट सहित विभिन्न बरोका काउन्सिलरहरु, बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु,अग्रज पत्रकार सुमन खरेल,भगीरथ योगी एवम् सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा लोकप्रिय गायक धिरज राई,दोहोरी गायक श्याम राना,नानु गुरुङ,सितु खरेल,सपनकुमार राई, आयुदीप गौतम लगायतले सांगीतिक प्रस्तुति गरेका थिए। त्यस्तै,मिसेस यूके नेपालकी विमला बुढाथोकीले आकर्षक नृत्य देखाएको सो वार्षिकोत्सव तथा च्यारिटी नाइट कार्यक्रममा सहभागी हुने संघसंस्थाका प्रतिनिधि,समाजसेवी तथा विभिन्न रुपमा योगदान गर्ने सहयोगदाता,कलाकार,सहयोगी सबैमा शाखाले धन्यवाद ज्ञापन गरेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?