Saturday April 27, 2024

मेरो 'बा' अनि 'मोटरबाईक' र कुशे औशी

२८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1494


मेरो 'बा' अनि 'मोटरबाईक' र कुशे औशी

यज्ञराज कार्की,

लण्डन। आज, कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन। सात समुन्द्र पारीको यो देशबाट  भिडियो च्याट गरेर बा'को अनुहार हेर्नु बाहेक अहिलेलाई अन्य उपाय छैन। अत; आजको यो अवसरमा म मेरो बा'सङ्गको एउटा तितो अविस्मरणिय यात्रालाई सम्झन चाहन्छु। 

कुरो १७ वर्ष अगाडीको हो। बा'लाई बुढेसकालमा मोटरसाईकल हुईंक्याउने रहर जाग्यो। दशकौंसम्म तिन पाङ्ग्रे रिक्सा तानेर वाक्क भएका मेरा बा'ले दुई पाङ्ग्रे  मोटरसाईकल कुदाउने धोको राख्नु  भनेको बा'को स्तरोन्नती भएको संकेत थियो । 

त्यसताका म बिरगन्ज बस्थें। मैले आफ्नो मोटरसाईकल सिकाउने मौका जुरेको थिएन। त्यसैले मेरो बा, छिमेकमा बस्ने डिबि गुरुङ्ग भन्ने अंकलसङ्ग मोटरसाईकल सिक्न थाल्नु भएछ।  

केही दिनको  कोर्स लिए पस्चात् बा'ले मोटरसाईकल एक्लै थाम्न सक्ने भएको कुरो सुनियो। ब्यस्त रोडमा निर्धक्क चलाउन सक्ने भने हुनु भएको रहेनछ। रिक्सा चालक मेरो बा'मा  मोटरसाईकल चलाउनको लागि एक प्रकारको उत्साह थियो। 

म र मेरी अर्धाङ्गिनी केहि दिनको लागि काठमाडौं  आएका थियौं।  त्यसैक्रममा अचानक जन्मथलो सिन्धुपाल्चोक जानु पर्ने काम आईलाग्यो। म अनि बा जानेभयौं - मोटरसाईकल हुईंक्याउँदै। 

मोटरसाईकलको अर्धज्ञान भएका मेरा बा'लाई पछाडी राखेर एकाबिहानै सिन्धुपाल्चोकको बाटो तताएँ। 

करिव २ घण्टाको यात्रासङ्गै दोलालघाट भन्दा माथी,बनदेउ भन्ने ठाउँमा पुग्यौं। त्यहाँ प्रहरीको चेक पोष्ट थियो। हामी चेकिङ्ग कट्यौं। 

बिहानको समय, गाडिको चाप थिएन। मैले बा'को  टेष्ट लिने बिचार गरें। 

"बुबा चलाउने हो ?" मैले सोधें । 

बा'ले नाईंनास्ती गर्नु भएन। पुरै 'कन्फिडेण्ट'का साथ " हुन्छ, चलाउँछु" भन्नुभयो। तत्पस्चात् मोटरसाईकलमा सवार हामी दुईको भुमिका फेरियो। बा चालक, छोरो यात्री।

केही दुरीसम्म बा हुईंकिनु भयो-आरामसङ्गै। म ढुक्क भएँ- बा'ले मोटरसाईकल कुदाउन जानिसक्नु भएछ।बाटो केही ओरालो थियो।अलिक पर नागबेली घुमाउरो आयो। बा'को स्पिड एकासी बढ्यो। त्यस्तोमा त स्पिड कम हुनु पर्ने। तर त्यसो भएन।"बुबा !स्पिड बढी भयो,अलिक कम गर्नुस्"  मैले बिनम्र अनुरोध गरें। बा'ले मेरो अनुरोधलाई बालै दिनु भएन या सायद हेलमेटले कान छोपिएको कारण सुन्नु भएन। त्यत्तिकैमा  मोटरसाईकल त एक्कासी कुनापट्टिको नालीमा झर्‍यो। नालीमा  झरेपछी पनि तेर्सिएको मोटरसाईकल केही बेरसम्म धस्सारिएर कुदिरह्यो।  केही पर कल्बर्ट थियो। मेरो आँखामा त्यही कलबर्ट को द्रुश्य नाचिरह्यो। सोचें, अब कलबर्टको खाल्डो भित्र जाक्किने भैयो - मरिने भैयो। तर भगवानको कृपा, हामी कलबर्टमा परेनौं। केहि वरै मोटरसाईकल अड्डियो।  

म भन्दा पहिलेनै बा जुरुक्क उठ्नु भयो। "ठिक छस् ?"बा'ले मलाई सोध्नु भयो। ठिक छु भनौकी छैन भनौं। मेरो आँखामा अझै झिलीमीली तारा नाचिरहेको थियो। बा उठेसङ्गै म पनि उठें।  हामिदुबै जनाले जिउ टकटक्यायौं। बुबाको खुट्टा लगलग काँपिरहेको थियो। मेरो मुटुमा ढ्याङ्रो बज्न छोडेको थिएन। मोटरसाईकल नालामा घाईते भएर सुतीरहेको थियो। मलाई त्यो मोटरसाईकल उठाउने आट आएन। न त बुबालेनै त्यो आँट गर्नु भयो। हामिले केहिबेर नालामा सुतिरहेको मोटरसाईकललाई हेरिरह्यौ। देब्रेपटिको लुकिङ्ग ग्लास थिएन। लेगगार्ड त पुरै कुच्चिएको थियो।  

बा'ले लगाएको हेलमेट भने उहाँँको टाउकोमै थियो। धन्न हेलमेटले टाउको बचाएछ। 

मेरो जिन्स पाईंटको घुँडोमा सुरुङ्ग भएछ। फुल बाहुले सुईटरको कुहिनोमा गुच्चा छिर्ने प्वाल परेछ। त्यही प्वालबाट  मैले आफ्नो कुहिनोमा रगतको चिटचिटे पातलो थोपा चुहिरहेको देखें। खासै अन्य चोट लागेको थिएन।बुबाको भने जिउ धस्सारिएछ।देखिने चोट चाहिँ  थिएन।

केही बेर दुर्घटना स्थलको अवलोकन पस्चात् बाउछोराले मोटरसाईकल घिसारेर नालाबाट रोडसम्म ल्यायौं। बुबाको हातखुट्टा लगलग काँपिरहेको थियो। जसोतसो लेगगार्डलाई तानतुन गरेर यथास्थानमा ल्यायौं।मैले पुन; मोटरसाईकल स्टार्ट गरें।अनि बा'लाई पछाडी राखेर जुन दिशाबाट आएको हो त्यतैतिर हुईंकिएँ।

दुर्घटना लगत्तै बाईक चलाउँदा मेरो हातखुट्टा लगलगी काँपिरहेको थियो। बनदेउदेखि बनेपासम्म आईपुग्दा बुबाले कैयन् पटक "तँ ठिक छस्?" भनेर सोधीरहनु भयो।  मैले पनि बुबालाई बारम्बार त्यस्तै प्रश्न तेर्स्याईरहें।  एक अर्काको हालखबर सोध्ने भन्दा अन्य कुनै संवाद भएन। 

खासमा त्यो दुर्घटना भयङ्कर थियो। अहिले पनि जब म त्यो दुर्घटना स्थलमा पुग्छु । तब त्यहाँ रोक्किएर ३ पटक थुकेको हुन्छु।किन थुक्छु ? त्यो भने थाहा छैन। 

दुर्घटना पस्चात्  बुबाले मेरी श्रीमतीसङ्ग गह भिजाएर दु:खेसो पोख्दै  भन्नू भएछ "आज झन्डै मैले छोरालाई मारेको थिएँ।छोरालाई केही भएको भए म कुन मुख लिएर तिम्रो सामु आउँथें होला!"

बुबाले पोखेको यो गुनासो सुन्दा मेरो मन चसक्क बिझेथ्यो । बा'को हात समातेर हिंडेको छोरालाई खोस्न सक्ने ताकत यमराजमा पनि के हुँदो हो र!



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?