८ मंसिर, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका ब्रिटीष काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटी ब्रिटीष गोरखाहरुको मागमा एकबध्दता जनाउदै 10 Downning Street पुगेर ज्ञापनपत्र बुझाएका छन्।
नेपाली ब्रिटीष काउन्सीलरहरुले भूपू गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आह्वान गर्दै प्रधाननमन्त्रीलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्।
सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरुले बिहीबार प्रधानमन्त्री कार्यालयमा पुगेर सल्लाहकार अमित जोगीलाई भेटी उनीमार्फत् प्रधानमन्त्री सुनकलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री सुन्नकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए। उनले गोर्खाहरुको समान पेन्सन मुद्धा यथासक्य र प्रधानमन्त्रीको नेपाल भ्रमण अर्को वर्षसम्म गराउने आश्वासन दिएको भेटमा सहभागी काउन्सीलर जीव बेल्वासेले बताएका छन। नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट अझसम्म नेपाल भ्रमण हुन नसकेको हालका प्रधानमन्त्री सुनकलाई निमन्त्रणा गर्दै नेपाल भ्रमणको निम्तो दिएको हो।
काउन्सीलरहरुको प्रधानमन्त्री कार्यालय भ्रमणको संयोजन रश्मोर बरो काउन्सिलर नेम थापा र लन्डन बरो अफ बार्नेट काउन्सिलर लक्ष्य गुरुङले संयुक्त रुपमा गर्नु भयको थियो। सो अवसरमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ,जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन,पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए।
त्यस्तै,बेलायतको भेटेरान मिनिस्टर भइ सकेका रश्मोर क्षेत्रका सांसद लियो डोचेर्टी र बेलायतस्थित वरिष्ठ समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने पनि सहभागीता सो अवसरमा रहेको थियो। नेपाली ब्रिटीष काउन्सीलरहरुले बेलायतस्थित नेपाली राजदूतावासमा पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको कपी बुझाएको बताउनु भयको छ।