२८ पुष, २०८०
सुरेश कोईराला।
काठमाण्डौ। भनिन्छ कर्म गर फलको आस नगर । फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्, फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तब्य सम्झाउनु भएको थियो। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने अर्का उदाहरण हुनुहुन्छ डिआइजी बुद्धिराज गुरुङङ।
गण्डकी प्रदेश प्रहरीको प्रमुखको भूमिकामा रहेका काम गरिसक्नु भएका गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाको नेतृत्मा हुनुहुन्छ। आफ्ना हरेक काम सफल तरिकाले गर्ने गरेकाले होला उहाँलाई अख्तियार जस्तो महत्वपूर्ण निकाएको प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रहरी संगठन भित्र काविल अफिसरका रुपमा चिनिनु भएका डिआइजी गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान अर्को अवसर हो। मन्दिरमा पुजारीले अवसर पाए जस्तै। आफ्नो कर्मबाट अगाडि बढ्न चाहाने गुरुङलाई अन्य ठाउँ भन्दा अख्तियार उपयुक्त भएको उहाँको मातहतमा बसेर काम गरेका अफिसर बताउँछन्।
गण्डकी प्रदेश प्रहरी प्रमुख रहँदा डिआईजी गुरुङले मातहतका जिल्लाहरुमा समय समयमा शान्ति सुरक्षाको अवस्था,जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको सबैले स्मरण गरिरहेका छन्।
आफ्नो अधिकारको पालना गर्दा अर्काको अधिकारलाई ध्यान राख्नु पर्छ भन्ने विषय डिआईजी गुरुङबाट सिक्न सकिन्छ। उनले घरेलु हिंसा, लागूऔषध दुव्र्यसनी,साइबर क्राइम सडक सुरक्षा जस्ता विषयमा काम गर्दा आम नागरिकको अधिकारलाई ध्यानमा राखेर काम गर्नु भएको छ। नागरिकमा सकारात्मक धारणाको विकास गरेर मात्र अपराध नियन्त्रणमा आफ्नो पाइला चाल्ने र मातहतको फौजलाई कमाण्ड गर्ने उहाँको महत्वपूर्ण खुबी हो।
जसरी एउटा लिडरमा हुने गुणहरु श्रीकृष्णले अर्जुनका सारथी बनेर सिकाउनु भएको थियो। कलियुगमा डिआइजी गुरुङले परक प्रविधिको प्रयोग गरेर आफू मातहतका कर्मचारीको ख्याल गर्ने गर्नु भएको छ। आफ्ना मातहतका कर्मचारीको सारथीका रुपमा पुलिस संगठन भित्र चिनिनु हुन्छ। मातहतका प्रहरी कर्मचारीहरुको गुनासोहरुलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफूबाट सम्बोधन नहुने गुनासोहरु माथिल्लो तहमा जाहेर गर्ने कार्यशैलीको विकास गरी प्रहरी संगठनमा हुने अनुचित दवाव नियन्त्रण गर्न उनको उल्लेख्य भूमिका खेल्नु नै डिआइजी गुरुङसँग नेतृत्व क्षमता कुटकट भरिएको छ भन्ने उदाहरण हो ।
तल्लो दर्जाका प्रहरीको सामान्य समस्यालाई पनि बुझ्दै उनीहरुको आत्मवलको बिकास गर्दै सही पुलिसिङ सिकाउन सक्ने क्षमता गुरुङमा छ। उहाँ प्रहरी संगठनमा प्रवेश गरेदेखि नै अपराध नियन्त्रण तथा अनुसन्धान तथा कमान्डिङमा उत्कृष्ट अफिसरका रुपमा गनिनु हुन्छ।
उहाँकै नेतृत्वमा गण्डकीमा अनलाइनबाटै प्रहरीमा अपराध सम्बन्धि उजुरी गर्न सक्ने व्यबस्था भएको थियो । सक्षम प्रहरी तथा सचेत नागरिक भए समाजमा अपराध नियन्त्रण गर्न सहज हुने बताउने गुरुङले मातहतका तल्लो दर्जाका समेत प्रहरीलाई समयसमयमा बिभिन्न तालिमहरु दिँदै आएका आउनु भएको थियो। त्यसैले गुरुङले कमाण्ड गर्दागर्दै अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन ‘पुलिस ब्याटन’ २०८० बाट गण्डकी प्रदेश प्रहरी पुरस्कृत भएको थियो। राम्रो काम गरेको भन्दै उनले संगठनबाट यस्ता थुप्रै पुरस्कारहरु पाइसक्नु भएको छ।
प्रमाणमुखी अपराध अनुसान्धान र अभिलेख व्यबस्थापनमा प्रहरी चुक्न नहुनेमा उहाँ जहिले अडिक देखिनु हुन्छ। आफूले नेतृत्व सम्हालेपछि मातहतका प्रहरी संगठनहरुको राम्रो कार्यशैलीका कारण हालसम्म विवादमा नपरेका अफिसरमा उहाँको नाम अग्रपंतिमा आउँछ। इमान्दारीता र संगठनप्रतिको बफदारिताका कारण उहाँले विवादको सामना गर्नु परको छैन्। अवसर र चुनौतिको चाङरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि अगाडिको जस्तै सफल काम गर्न सक्नुहुने छ भन्नेमा उहाँका साथीहरु र सँगै काम गरेका प्रहरी अफिसर ढुक्क देखिन्छन्।