३ बैशाख, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ 'नयाँ वर्ष २०८१' मनाएको छ।
शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा अध्यक्ष मान गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम प्रमुख अतिथि राजदूत आचार्य,रसमुर बरो काउन्सिलका मेयर काउन्सिलर क्लिभ ग्राटन,काउन्सिल लिडर काउन्सिलर गारेथ लियोन र अध्यक्ष मान गुरुङ,पूर्व अध्यक्ष रामचन्द्र गुरूङले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए। यस्तै लामा गुरुङ र पण्डित आचार्य मधुसुदन सत्यालले स्वस्ती वाचन गरेका थिए।
महासचिव सुशिला मगरले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै कार्यक्रम आगडि बढाएकी थिइन्। उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि राजदुत चालिसे,अतिथिले मन्तव्य राख्नुका साथै सांसद तथा मिनिस्ट्री अफ स्टेट फर द आर्म फर्सेसका लियो डचेर्टीले भिडियो सन्देश सुनाइएको थियो।
प्रमुख अतिथि चालिसे र अध्यक्ष गुरुङद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो भने 'चिनारी' पुस्तक विमोचन गरीएको थियो।
औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष मान गुरुङले प्रमुख अतिथि,अतिथि,जीआरएनसीका सदस्य,प्रायोजक,दातासहित विभिन्न क्षेत्रबाट नेपाली नयाँ वर्ष कार्यक्रमलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिईयो। बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग र सहभागिताबिना कार्यक्रम सम्भव नभएको भन्दै अध्यक्ष गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नु भयको थियो।
औपचारिक कार्यक्रमपश्चात् सांगीतिक माहोल सुरु भएको थियो। जसमा नेपालबाट आएका चर्चित कलाकारहरु मनमाया वाइबा,उषा गुरुङ,प्रेम विवश घर्तीमगरले आफ्ना बेजोड प्रस्तुति राख्दा सहभागीहरु स्टेज र मञ्ज अगाडि छमछमी नाचेका थिए।
यस्तै कार्यक्रममा बालगीत,नृत्य,डीएमटी ब्यान्डको प्रस्तुति,सयपत्री कल्चरल ग्रुपको नृत्यजस्ता प्रस्तुति समेटिएको थियो। कार्यक्रममा नेपालीसँगै विदेशीहरु समेत नाचेका थिए।
बिबीध कार्यक्रम गर्दै जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ मनाउँदै आएको छ ।
(gurkhamedia)