१२ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ।
उहाले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल,हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताउनु भयो। हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन्। उहाले अंग्रेजी भाषा सिकाउँनु भयको छ।
कार्यक्रम गत २९ मार्चबाट बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ।पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने,चियापान गफगाफ गरिने गर्दछ। दोस्रो १ घण्टा लेखपढ गर्छन्। कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ। तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगान सहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन्। कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो ।
तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ। उक्त कार्यक्रममा नेपाली मुलका ज्येष्ठ नागरिकहरु आउन सक्ने अध्यक्ष गुरुङले बताउनु भयको छ । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइ दिएका छौं। आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला। यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,'अध्यक्ष गुरुङको आग्रह छ। अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी,बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ।
'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ। जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नाति नातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,'अध्यक्ष गुरुङले बताउनु भयो।
चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली) बाट गरेका छन्। अध्यक्ष शिवकुमार गुरुङले शिक्षिकाको भूमिका निभाउने र खाजाको प्रायोजन गरिरहेकाहरुलाई धन्यवादसहित आभार व्यक्त गर्नु भयको छ।
(गोर्खा मिडीयाबाट)