Sunday April 28, 2024

मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरको पोल्टामा

२३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1551


मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरको पोल्टामा

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतको मिडल्यान्ड क्षेत्रमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरले जितेको छ।

सोमबार लेष्टर लफबरोमा खेलाइएको फाइनलमा नटिङहम गोर्खालाई १२ रनले हराउंदै गोर्खा टाइगर लेष्टरले लिग उपाधि जितेको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार लिग विजेता गोर्खा टाइगर लेष्टरले पुरस्कारस्वरूप नगद १ हजार ८ सय पाउन्ड,ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्‍यो।

उपविजेता नटिङहम गोर्खालाई नगद ९ सय पाउन्ड, मेडल, प्रमाणपत्र प्रदान गरियो। तेस्रो स्थान हासिल गर्ने बर्मिङम राइनोजले नगद ३ सय पाउन्डसहितको पुरस्कार पायो।

त्यस्तै, लिगको ‘बेस्ट ब्याट्सम्यान’ नटिङहम गोर्खाका कप्तान सुमन श्रेष्ठ, बेस्ट बलर,गोर्खा टाइगर लेष्टरका विपिन चोखाल र ‘बेस्ट अलराउन्डर’ नटिङहम गोर्खाका दिवस गिरी २-२ सय पाउन्ड  नगदसहित पुरस्कृत भए।फाइनल खेलका ‘म्यान अफ द म्याच’ गोर्खा टाइगरका रिशभ सापकोटाले ५० पाउन्ड नगद पुरस्कार प्राप्त गरे।

 

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, लिग संयोजक साझा नेपाली समाज यूकेका अध्यक्ष दिपक सापकोटा र महासचिव शशांक शर्माले पुरस्कार वितरण गरेका थिए। 

महासचिव शर्माका अनुसार त्यस अवसरमा प्रमुख अतिथि मल्लले बेलायतमा नेपाली खेलाडीले देखाएको क्रिकेटको स्तर आफ्नो कल्पनाभन्दा माथि रहेको भन्दै प्रशंसा गरे। उनले भविष्यमा बेलायतमा बस्ने खेलाडीहरु नेपालको राष्ट्रिय टीममा देख्न पाउने विश्वास पनि उनले व्यक्त गरे।  

लिगको फाइनल खेल हेर्न मिडल्यान्डका विभिन्न क्षेत्रबाट २ सय बढी दर्शक उपस्थित भएको आयोजकले जनाएका छन्।  

सन् २०१९ मा शुरु भएको लिगको चौंथो संस्करण यस वर्ष गत जुन महिनाको पहिलो सातादेखि हरेक आइतबार खेलाइएको  थियो। यसपटक नटिङहम, लेष्टर, बर्मिङहम र पिटरबरोबाट स्थानीय नेपाली खेलाडीका चार टीमले लिग खेलेका थिए।  

नेपाली युवालाई पनि खेलप्रति आकर्षित गराउने र भविष्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने मूल उद्धेश्य राखेर लिग सञ्चालन गरिएको लिगका संस्थापक एवम् संयोजक सापकोटाले बताए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?