Saturday May 11, 2024

सुटुक्क बेलायत आईन् रास्वपाकी सोविता

३१ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1863


सुटुक्क बेलायत आईन् रास्वपाकी सोविता

शीतलपाटीन्युज डटकम।

लण्डन। आजकल देशबाट बिदेशमा आईपुगेका कुनै पनि  नेताहरुलाई एयरपोर्टमा पुगेर कार्यकर्ताहरुको लावालस्करले खादा र माला सहित भब्य स्वागत गर्ने परिपाटिनै बसेको छ। क्यामेराको फ्ल्यास सहित बाजागाजा बजाएर दुलाहा दुलही अन्माए झैं अबिर जात्रा गर्दै सेल्फी खिचेर स्वागतको नाममा आफ्ना नेता रिझाउने राजनैतिक संस्कारनै बसेको छ। तर  रास्वपाको युके बिभाग भने यो संस्कारबाट बिल्कुलै फरक देखिएको छ। 

गत सोमबार रास्वपाकी लोकप्रिय युवा साँसद सोबिता गौतम आफ्नो श्रीमान सहित बेलायत अवतरण गरिन् । गत वर्षको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित गौतमले आम चासो र समसामयिक विषयहरुमा संसदभित्र र बाहिर दुवैतिर दमदार शैलीमा आवाज उठाउँदै आएकी छिन् र यस्कै कारण  उनी देशैभर लोकप्रिय छिन् । यसरी नेपाली युवा जमातमा आशा र भरोसाकी केन्द्रबिन्दुको रुपमा मानिएकी उनै युवा साँसद बेलायत आएको खबर न कुनै क्यामेराले खिचाईयो न त कुनै समाचारमानै लेखाईयो। उनलाई एयरपोर्टमा स्वागतको निमित्त रास्वपा समर्थितहरुको लावालस्कर पनि देखिएन न त सामाजीक संजालमा सेल्फिहरुको फोटो नै देखियो।

केवल  रास्वपा युकेको अफिसियल फेसबुक मार्फत साँसद गौतमलाई युकेमा स्वागत ब्यक्त गरिएको एक हरफको स्ट्याटस मात्रै भेटियो । यहि स्ट्याटसलाई आधारमानी शीतलपाटीले रास्वपा समर्थित प्रवास नेपाली सम्पर्क बिभागका शभापती पवन शर्मा मार्फत साँसद गौतमको युके भ्रमण बारे जिज्ञासा पोख्यो। शीतलपाटीन्युजको जिज्ञासामा शभापती शर्माले साँसद गौतमको भ्रमण नितान्त पारिवारिक भएको जानकारी दिनु भयो। त्यसो त अन्य दलका नेताहरु पारिवारिक भ्रमणको क्रममा बेलायत आउँदा पनि कार्यकर्ताको लावालस्करले तामझामका साथ स्वागत गरेको देखिन्थ्यो। हामिले सभापती शर्मालाई "साँसद गौतमको स्वागत कसरी गर्नु भयो?" भन्ने प्रश्न राख्यौं। उत्तरमा शर्माले फोन मार्फतनै आफुले साँसद गौतमलाई स्वागत  गरेको बताउनु भयो। तपाईको सासद आउँदा स्वागत नगरेकोमा रुष्ट होलान् नी भनेर राखिएको अर्को जिज्ञासाको जवाफमा शभापती शर्माले भन्नु भयो "हामी देखावटी तामझाममा रुचि राख्दैनौं र हाम्रा नेताहरुपनी यस्तो कृयाकलापको शौखिन हुनुहुन्न। हाम्रो पार्टिको अग्रपङ्तीबाटै अनावस्यक स्वागत र सत्कारको पक्षमा नलाग्न आग्रह गरिएको छ। हामी पनि देखासिखीको यस्तो परिपाटीलाई तोड्न चाहन्छौ।" 

शर्माका अनुसार नितान्त पारिवारिक भ्रमणमा आएकी साँसद सोबिता गौतम १ हप्तासम्म बेलायतमा रहनेछिन्। बेलायत बसाईंको क्रममा उनले पार्टिको केही कार्यक्रममा सहभागिता पनी जनाउनेछिन्। 

त्यस्तै बिभागकी महामन्त्री पिपला पाण्डे देवानका अनुसार साँसद गौतमले भोलि बिहान १० बजे प्लम्स्टेडका नेपाली समुदायहरुसङ्ग अन्तर्कृया गर्नेछिन् भने मिडल्याण्डका नेपालीहरुसङ्ग भेटघाट र छलफल गर्ने योजना समेत रहेको छ।

त्यस्तै वेल्समा बनिरहेको नेपाली भिलेजको स्थलगत अवलोकन गरि ब्रेकनका मेयरसङ्ग यहाँको बिकासका प्रकृयाहरुबारे छलफल गर्ने कार्यक्रम रहेको महामन्त्री देवानले जानकारी दिईन्। 

"उहाँको यो पारिवारिक भ्रमण भएतापनी हामिले उहाँको  केहि समयलाई युकेको तिब्र बिकास र यस्का प्रकृयाहरुबारे देखाउने, बुझाउने र सिकाउने प्रकृयाको रुपमा परिणत गराउने कोसिसमा छौं। जस्मा उहाँको रुचि रहेको छ।" महामन्त्री देवानले भनिन् " हामी हाम्रा नेताहरुसङ्ग भेटेर सेल्फी लिने र सामाजीक संजालमा पोष्ट्याएर कमेन्ट बटुल्ने भन्दा पनि परिणाममुखी कार्यक्रमहरुमा फोकस गर्न र गराउन चाहन्छौं। "

बेलायत छिर्नु भन्दा महिनौं अगाडी देखि आफ्ना नेताको  आगमनबारे व्यापक प्रचार प्रसार , हल्लखल्ला गर्दै खबर फैलाउने र आफ्ना कार्यकर्ताहरुलाई अनिवार्य उपस्थिती हुन 'उर्दी' जारी गर्ने अन्य दलको 'चलन'लाई  रास्वपा युके बिभागले भने तोडेको छ। मन्चको अनावस्यक साजसज्जा लगायत आशन र भाषणको पट्यारलाग्दो शैलीलाई परिवर्तन गर्दै छोटो र मीठो कार्यक्रमको आयोजनामा ध्यान दिंदै आएको रास्वपा- युके बिभागबाट आफ्ना नेता रिझाउन तल्लिन रहने अन्य दलका समर्थकहरुले पनि केही सिक्नै पर्ने देखिन्छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?