Friday May 10, 2024

कविता : नलेखिएको यौटा प्रेम कथा

५ श्रावण, २०८० शीतलपाटीन्युज डटकम 1523


कविता : नलेखिएको यौटा प्रेम कथा

प्रकृति खरेल,

 

तिमीसंगको पहिलो भेट 

छर्छरे नदीको किनारमा

चिसो पानीको कलकल प्रवाह संगै

यौटा मधुर बिहानीमा भएको थियो,

र मैले भनेकि थिएँ -

कोहीसंग मिलन हुन जिन्दगीमा 

ब्याकरण मिल्नुपर्ने रहेनछ !

 

रेल भन्दा लामा दुःख बिर्सिएर

जयनगरको रेलको अन्तिम डिब्बामा बसेर

खट-खट खट-खट खट-खट

आवाजसंगै

कति सुनाउँदा नसुनाउँदै

कति सुन्दै नसुनेर 

शुरू गरेका थियौँ यौटा कहानी

 

झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै

तिमीले कत्ति सजिलै भनेको थियौ -

हेर त कति हसिलो छ तिम्रो चेहरा !

मैले जवाफ तिम्रो आँखामा 

पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ

 

घरिघरि समीरको चिसो झोक्काले 

म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले

म भुतुक्क हुन्थेँ - तिमी झनै लजाउँथ्यौ

मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ। 

 

मेरो आँखाको चस्मा निकालेर

तराइको फाँटको उँखुबारीलाई देखाउँदै,

यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको -

“विकल्प, यहीँ रमाउँला देश छाडेर कही नजानू”

भर्खर सुनाए झैँ कान समाउन पुग्छु ।

 

मलाई अलिकति हतार थियो जिन्दगी संग

तर हतार छ भन्नै सकिन,

हतार छ भन्नु 

तिमीलाई छोड्नु जस्तै थियो ।

त्यसैले 

चुपचाप चुपचाप तिमी संगै हिँडिरहेँ

रेलले लिकमा गुडे जस्तै गरी !

 

एकाबिहानै खबर सुनेँ -

जनकपुर जयनगर रेल बन्द भो,

मन चिसो भो

तताउने साथी भनेका यादका टुक्रा रहेछन्

यादकै तातोमा मन ओसिलो पारेँ

राखेँ सम्झनामा तिमीसंगको पहिलो यात्रा

 

सोँचे -

जिन्दगीको जोड घटाउमा

एकदिन मान्छेले पनि बाटोमै रोकिनु पर्नेछ

तर आसाको गाँठो दह्रो पारेर बाधेँ

रेल नचले पनि रोकिने छैन तिमी संगको यात्रा

 

कुनै कथाको अनुच्छेद जस्तो

कुनै कविताको हरफ जस्तो 

रहेनछ मान्छेको जिन्दगी

जसलाई चाहे जस्तो शब्द फेर्न मिलोस्

भाव बदल्न मिलोस् 

कहीँ ह्रस्व बनाउन सकियोस्

कहीँ दीर्घ बनाउन मिलोस् 

 

आज तिमीले पहिलो चोटी पत्र पठाएको छौं

पहाडी गाउँको मेरै ठेगानामा

पत्र खोलेर पढदै छु

मलाई अहिले पनि बिस्वास छैन

तिमीले पत्र लेख्छ्यौ भनेर

र लेखे पनि पठाउन सक्छ्यौ भन्नेमा

तर पत्याउन मञ्जूर छु

चिठी हातमा परेको छ

 

लेखेको छौं

सङ्लो बग्दैन 

तिमीले नाम राखेको छर्छरे खोला

चर्किएर - मात्रै फुट्न बाँकी छ

तिमीले देशको नक्सा बनाएर छाडेको ढुंगा

 

तिमीले र मैले 

संगै तस्बिर खिचाएको धाँनको फाँटमा

रोप्न पाएनन् यो बर्ष नेपालीले धान

त्यो फाँट छिमेकीले आफ्नो बनायो

र संगै यो पत्र लेख्ने मान्छे पनि ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?